संयुक्त नाई श्रमिक द्वारा काठमाडौं विरोध प्रदर्शन।

72

रौतहट ३० भाद्र ।।।

(कोभिड १९) कोरोना भाइरसको कारण लामो समयदेखि बन्दाबन्दीका कारण पूर्णरुपमा व्यवसाय तथा पसलहरू ठप्प भएका नाई श्रमिकहरु आफ्नो व्यवसाय सञ्चालनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

ब्युटी पार्लर र सैलुन व्यवसाय सञ्चालनको माग गर्दै मंगलबार संयुक्त नाई श्रमिक संघर्ष समितिले आफ्ना औजारसहित माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।

नेपालमा गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनदेखि हालसम्म नाई श्रमिकहरुले आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न पाइरहेका छैनन् । अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएपनि सैलुन र ब्युटि पार्लर सञ्चालन गर्न अनुमति सरकारले दिएको छैन ।

लामो समयदेखिको व्यवसाय बन्दका कारण दुई छाक खान पनि समस्या भइरहेको, घरभाडा तिर्न नसकेको र घरबेटीबाट अपमानजनक व्यवहारसमेत सहन परिरहेको नाई श्रमिकहरुको गुनासो छ ।

देशैभरिका सबै सैलुन तथा पार्लरहरु स्वास्थ्य मापदण्डअनुसार खोल्न पाउनुपर्ने, सम्पूर्ण नाई श्रमिकहरुलाई तुरुन्त राहतको व्यवस्था गरिनुपर्ने, लकडाउन अवधिको नाई श्रमिकहरुको बैंक ब्याज मिनाहा हुनुपर्ने, लकडाउन अवधिभरको नाई श्रमिकहरुलाई मासिक २५ हजारको व्यवस्था हुनुपर्ने माग आफूहरुको रहेको नेपाल नाई ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले मधेशवाणीलाई बताएका छन् ।

यसैगरी, उनले देशैभरका नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट वितरण गरिनुपर्ने र देशैभरिका सम्पूर्ण नाई श्रमिकहरुलाई कम्तीमा ५० लाख रुपैयाँको जीवन बीमामको व्यवस्था गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् ।

नेपाल नाई ट्रेड युनियन, अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघ, नेपाल नाई संघ लगायतका नाई श्रमिकहरुले आन्दोलन सुरु गरेका छन् । मधेशवाणी