लुम्बिनी चिनी मिल, श्रीराम सुगर, अन्नपूर्ण सुगर मिलका सञ्चालकको पक्राउ पुर्जी जारी।

115

पुस १ काठमाडौं।।।

उखु किसानको बक्यौता नतिर्ने चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उखु किसानको जाहेरीपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी गरिएको हो। 

मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीले अन्नपूर्ण सुगर मिलका संचालन राकेश कुमार अग्रवाल, जिल्ला प्रशासन कार्यालय रौतहटले श्रीराम सुगर मिलका संचालक विशाल अग्रवाल, अनुज अग्रवाल र हितेश गोल्छा तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीले लुम्बनी चिनी मिलका संचालक सुशीला गोयलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

अन्नपूर्ण चिनी मिलका व्यवस्थापक राकेश कुमार अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालयलाई लेखिपठाएको प्रमुख जिल्ला अधिकारी सुदेन्द्र पौडेलले नेपाल लाइभलाई जानकारी दिए। ‘अन्नपूर्ण सुगर मिलका संचालकलाई पक्राउ गर्न आज पुर्जी जारी भएको छ‚’ उनले भने।

सर्लाहीकै अरु चिनी उद्योगले पनि किसानको बक्यौता रकम तिर्न बाँकी भएपनि अरु उद्योगका संचालकविरुद्ध भने पक्राउ पुर्जी जारी नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। 

त्यस्तै श्रीराम सुगर मिलका संचालनविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न लागिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘जाहेरी लिएर अदालतमा पेश गरेका छौं। त्यहाँबाट पक्राउ पुर्जी जारी हुन्छ। आजको कार्यालय समय सकियो। तर पनि हामी आजै पक्राउ पुर्जी आजै जारी गर्ने प्रयासमा छौं‚’ उनले भने‚ ‘उद्योगीहरु काठमाडौं मै छन। पक्राउ आदेश जारी भएपछि प्रहरीले पक्राउ गर्छ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले लुम्बिनी चिनी मिलका संचालकविरुद्ध आजै पक्राउ पुर्जी जारी हुनसक्ने बताए। ‘हामीले किसानलाई जाहेरी दिनका लागि सहजीकरण गरिदिएका छौं। जाहेरी जिल्ला प्रशासनबाट जिल्ला अदालतमा गइसकेको छ। लुम्बिनी चिनी कारखानाको जाहेरी आजै आएको कारण यो विषय अदालतमा गइसकेको छ‚’ उनले भने। तर आज इन्दिरा सुगर मिलविरुद्ध जाहेरी नआएका कारण पक्राउ पुर्जी जारी गर्न नसकिएको उनले बताए।



यद्यपि, इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका संचालक एउटै व्यक्ति भएका कारण जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

किसानको रकम नतिर्ने सबै चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएपनि व्यापारीहरु काठमाडौंमा भएका कारण प्रहरी प्रशासनले अन्तरजिल्ला समन्वयमार्फत पक्राउ गर्न लागेको हो। मंगलबार साँझसम्ममा कुनैपनि व्यापारी पक्राउ भने परिसकेका छैनन्।