आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा बनाए: मेयर सन्तोष मेहता

261

रौतहट २ जेष्ठ ।

रौतहट जिल्लाको इशनाथ नगरपालिकाका नगरप्रमुखले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाएका छन् । कोरोना महामारीको अवस्थामा कसैले पनि समयमा स्वास्थ्य संस्था पुग्न नसकेर गाह्रो हुने अवस्था नआओस भनेर नगर प्रमुख सन्तोष मेहताले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाएका हुन् ।

नगरभित्रका कोरोना संक्रमित र अन्य बिरामीले एम्बुलेन्सको अभावमा स्वास्थ्य संस्थामा पुग्न असहज नहोस्, भनेर आफूले प्रयोग गर्दै आएको गाडीलाई नै एम्बुलेन्स बनाएर प्रयोगमा ल्याइएको नगर प्रमुख मेहताले बताए ।

‘जनता एम्बुलेन्स नपाएर उपचार गर्न जान समस्या हुनु र म गाडी चढेर हिड्नु कदापि सुहाउँदैन’, उनले भने, ‘त्यसैले मैले यो निर्णय गरेको हुँ । अहिलेको अवस्थामा मलाई चढ्न गाडी भन्दा पनि जनतालाई एम्बुलेन्सको बढी आवश्कता छ ।’

उनले कोरोना कहर मत्थर नहुन्जेलसम्म आफूले प्रयोग गर्दै आएको गाडी जनताको लागि एम्बुलेन्स बनाउने बताए । उनले नगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्सलाई भने कोरोना संक्रमितलाई देशभरको जुनसुकै स्थानमा रहेका अस्पतालमा लानु परेपनि निःशुल्क लैजाने प्रयोजनको लागि प्रयोग गरिने बताए ।

त्यसैगरी सो नगरपालिकाले नगरवासीलाई कोरोना कालमा स्वास्थ्यमा परीक्षणमा कुनै अप्ठ्यारो नआओस् भनेर डाक्टरसहितको ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ । एम्बुलेन्स सेवासहितको सो टिमले नगरका विभिन्न भेगमा गएर सर्वसाधरणको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गर्ने नगरपालिकाका स्वास्थ्य संयोजक इसराजुल खानले बताए ।

सो टिमले कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसिरहेका संक्रमितहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएको उनले जानकारी दिए ।

’हामी कसैले फोन गर्नुभएको १५ मिनेटभित्र सो स्थानमा पुग्छौ र उहाँहरुलाई स्वास्थ्य सेवा प्रदान गर्छौ’ उनले भने , ‘२४सै घण्टा हामी नागरिकलाई सेवा दिन तयार भरेका छौँ । कोरोना कहरको बेला स्वास्थ्य सामान्य उपचार नपाएर कसैले पनि मृत्यु वरण गर्नु नपरोस् भनेर नगरपालिका लागिपरेको छ ।’

त्यसैगरी इशनाथ नगरपालिका–९ मा रहेको डुमरिया स्वास्थ चौकीमा १० शय्याको अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा होम आइसोलेसनमा बस्न पायक नपर्ने र अक्सिजनको आवश्यकता पर्नेहरुलाई राखेर उपचार गर्ने व्यवस्था मिलाइएका नगरपालिकाले जनाएको छ । सभार :- new24nepal tv